बुधबार, बैशाख ५, २०८१

संकटमा पर्दै भेडापालन व्यवसाय

सोलुखुम्बु, कार्तिक । हिमाली भेगमा लगिएको भेडीगोठ विस्तारै जाडो बढेसँगै तल्लो भेगमा झार्न थालिएको छ । यस वर्ष चाँडै जाडो बढेकाले अधिकांश भेडीगोठ तल्लो भेगमा झारिसकिएको ओखलढुंगाका भेडापालक जितबहादुर गुरुङले बताए । सोलुखुम्बुको मुक्ली, सल्यान तथा ओखलढुंगाका गुरुङ तथा केही राई जातिले पुस्तौँदेखि अँगाल्दै आएको भेडापालन व्यवसाय अन्य व्यवसाय जस्तो एक ठाउँमा मात्र राखेर गर्न नहुने भएकाले मौसमअनुसार तराईदेखि हिमालसम्म डुलाउनुपर्ने व्यवसायी बताउँछन् । अहिले हिमालमा चिसो शुरु भएकाले मध्यपहाडी भेगका जंगलमा अधिकांश भेडागोठ झर्दै गरेको पाइन्छ ।jumli seep
मुक्लीका परशुराम गुरुङले चिसो याममा पहाड हुँदै तराईसम्म भेडा गोठ लाने र फेरि गर्मी याम शुरु भएपछि क्रमशः फर्काउने बताए । “भेडालाई धेरै चिसो र धेरै गर्मी हुनु हुँदैन, तापक्रमअनुसार गोठ सार्नुपर्छ”, उनले भने ।
भेडापालन पेशा निकै कठिन छ, कहिले हिमाल त कहिले तराई पुग्नुपर्ने हुन्छ, सोलुखुम्बुको सल्यान–५ का भेडापालक जकशेर राईले भने, “परिवार, चाडपर्व केही भन्न पाइन्नँ ।” भेडापालनबाट राम्रै आम्दानी गर्न सकिने भए पनि निकै कठिन भएकाले नै पछिल्लो युवापुस्ताले त्यसतर्फ मन नलगाएको र पेशा नै संकटमा पर्दै जान थालेको उनको भनाइ छ । चरनका लागि माथिल्लो क्षेत्र खुल्ला हुने भए पनि तल्लो क्षेत्रमा सामुदायिक वन उपभोक्ता समूहले चरन उपलब्ध नगराउँदा समस्या हुने गरेको व्यवसायी बताउँछन् । “मौसमअनुसार सबै क्षेत्रमा भेडा डुलाउनुपर्ने भए पनि केही सामुदायिक वनमा चरिचरनमा रोक लगाएपछि चरण क्षेत्रको अभाव हुन थालेको छ”, मुक्लीका खड्गबहादुर गुरुङले गुनासो गरे ।

प्रकाशित मिति: आइतवार, कार्तिक ५, २०७४