बिहिबार, चैत्र १५, २०८०

व्यवसायिक किसानको हत्या सरोकारवाला निकाय मौन

काठमाडौं, मंसिर । केही समय अगाडि काठमाडौंमा निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या भयो । गौचनको हत्या प्रकरणले निकै नै चर्चा पायो । निर्माण व्यवसायीहरुले त्यसको विरोध प्रर्दशनी गरे । सरोकारवाला निकायहरुले खेद व्यक्त गर्दै विज्ञप्तिहरु पनि प्रकाशित गरे । सुरक्षा अंगपनि हत्यामा संलग्नहरुको खोजी गर्ने कार्यमा तदारुकताका साथ लागे । नेपाली सञ्चार माध्यमहरुले गौचनको हत्यालाई विशेष स्थान दिएर प्रकाशन पनि गरे ।
तर जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीमा व्यावसायिक गाईपालन गर्दै आएका (व्यवसायिक किसान) दीपक सुवेदी र उनकी श्रीमती दीपा सुवेदीको वीभत्स हत्या हुँदा त्यसको चर्चा हुन सकेन । व्यवसायिक किसानका संघसंगठनले विज्ञप्ति जारी गर्न सकेनन् ।
किसानका नाममा खुलेका विभिन्न राजनीतिक दल निकट वा स्वतन्त्र संगठनहरु पनि मौन बस्नु नेपाली किसानका लागि दुर्भाग्य हो । आफूलाई ठूला सञ्चार माध्यम भन्नेहरुले पनि उचित स्थान दिन सकेनन् । किसानहरुको अभिभावकत्व वोकेर बसेको कृषि विकास मन्त्रालय, पशुपन्छी विकास मन्त्रालयले समेत एक शब्द निकाल्न सकेका छैनन् ।
एउटा दलको कार्यकर्ताको हत्या भयो भने राष्ट्र भर विरोध हुन्छ । ठूलो व्यवसायीहरुको हत्या भयो भने पनि त्यस्तै देखिन्छ तर किसानको हत्या भयो भने सव मौन किन ? यसले के प्रष्ट पार्दछ भने नेपाली कृषि क्षेत्र र त्यसमा संलग्न हुनेहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन ।
हुन त यतिखेर घटनाबारे सत्यतथ्य पत्ता लगाउन सिआइबीको टोली बारा पुगेको छ । आफ्नो घरबाट करिब डेढ किलोमिटर टाढा रहेको गाईफार्म सञ्चालन गर्दै आएका सुवेदी दम्पतीको शव फरक फरक ठाउँमा फेला परेको थियो छत्तीस वर्षीय दीपकको शव घरबाट करिब ४० मिटर टाढा तथा ३२ वर्षीया दीपिकाको शव घरभित्र फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार लुटेरा समूहले लुटपाटपछि सुवेदी दम्पतीको हत्या गरेको अनुमान गरिएको छ ।

प्रकाशित मिति: आइतवार, मंसिर १७, २०७४