बिहिबार, बैशाख १३, २०८१

विदेश भ्रमणको उपलब्धी खोजिनु पर्ने

काठमाडौं, फागुन । चालु आर्थिक वर्षका छ महिना अवधिमा कृषि विकास मन्त्रालय र मातहतका निकायबाट विदेश भ्रमण निकै नै भयो । प्राविधिक मन्त्रालय भएका कारण कृषि क्षेत्रका आधुनिकीकरण, नयाँ प्रविधि लगायतका जानकारी लिनु वा विदेशमा कृषिमा प्रयोग गरिएका प्रविधिबारे जानकारी लिनु आवश्यक पनि छ । तर, त्यसैको बहानामा हरेक वर्ष करोडौं रुपैयाँ झ्वाम्म पारेर विदेश भ्रमण जाने प्रथाको भने कहिल्यै न्यूनिकरण हुन सकेन । बरु विदेश भ्रमण थप बढ्दै गएको देखिन्छ ।
कृषि विकास मन्त्रालय प्राविधिक मन्त्रालय भएका कारण गैर प्राविधिकहरुलाई पनि कृषि विकास मन्त्रालयले विदेश भ्रमण लैजानुको कारण र त्यसको उपलब्धी खोज्नु पर्ने बेला भएको छ । यतिखेर केपी ओली नेतृत्वको सरकारले सरकारी रकममा कुनै पनि बहानामा विदेश भ्रमणलाई रोक लगाएको छ । विदेश भ्रमण नै रोक लगाउनु भन्दा पनि आवश्यक र उपलब्धीका आधारमा विदेश भ्रमणतय गर्ने र विषयगत व्यक्ति बाहेकलाई भ्रमणमा रोक लगाउनु पो पर्ने थियो कि ?
अव नयाँ सरकारले विदेश भ्रमण फुकुवा गर्नु अगाडि विगतको समयलाई दृष्टिगत गर्दै विदेशमा गरिएका भ्रमणका कस्ता व्यक्ति सामेल भए र उपलब्धीहरु के भए खोजी गरी सीप, ज्ञान र क्षमता बृद्धि तर्फ लाग्नु जरुरी देखिन्छ ।
विशेष गरी विदेश भ्रमण नै रोक्ने भन्दा पनि कृषि विकास मन्त्रालय, पशुपन्छी विकास मन्त्रालय, बन मन्त्रालय सिंचाई मन्त्रालय, गरिवी तथा सहकारी मन्त्रालय जस्ता प्राविधिक मन्त्रालयबाट कर्मचारी तथा सरोकारवाला व्यक्तिहरुले चालु आर्थिक वर्षका छ महिनामा गरेका भ्रमणको उपलब्धी सरकारले तत्काल माग्नु जरुरी छ । र आवश्यकता र महत्वलाई दृष्टिगत गरी विदेश अध्ययनका लागि विदेश जान पाउने तर उपलब्धी सार्वजनिक गर्नु पर्ने नियम बनाउँदा बेश हुन्छ की ?

प्रकाशित मिति: मङ्लबार, फाल्गुन १५, २०७४