शुक्रबार, चैत्र १६, २०८०

लोप हुँदै कोदो खेती

पाल्पा, १ फागुन । पाल्पामा कोदो खेती लोप हुँदै गएको छ । कोदो खेतीप्रति कृषकको आकर्षण घट्दै जाँदा कोदो खेती लोप हुँदै गएको हो । कोदो फल्ने ठाउँमा नै कृषकले खेती गर्न छाडेपछि अहिले बीउसम्म पाउन मुस्किल हुन थालेको छ ।
पाँच वर्षअघिसम्म बगनासकाली गाउँपालिका खानीगाउँका डोलराज बस्यालको बारीमा प्रशस्तै कोदो फल्थ्यो । अहिले गाउँमा यसको बीउसम्म पनि पाउन मुस्किल भएको छ । बस्याललगायतका गाउँका धेरै कृषकले पाखोबारीमा कोदो लगाएर पर्याप्त कमाइ गर्दथे । अहिले धेरैले कोदो लगाउन छाडिसकेका छन् ।
परम्परागत रूपमा गरिँदै आएको कोदो औषधिका रूपमा प्रयोग हुने गरेको छ । पहिला बर्खे खेतीका रूपमा लगाइने कोदो अहिले देख्नै मुस्किल पर्न थालेको छ । कृषकले विस्तारै कोदो खेती गर्न छाड्दै गएपछि जिल्लामा कोदो अभाव हुँदै गएको हो ।
कोदो अन्य बालीभन्दा स्वस्थकर भए पनि यसतर्फको आकर्षण घट्दै गएको छ । बढ्दो शहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमिन बाँझिन थालेका छन् । ग्रामीण भेगका बासिन्दा शहर पस्न थालेपछि कोदोले भरिभराउ हुने जमिन अहिले बाँझिदै गएका हुन् । कम मेहनतमा उत्पादन बढी हुने प्रयोग तथा उपयोगका क्रममा पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भए पनि पोषिलो कोदोको पछिल्लो समयमा खाद्यान्नमा भन्दा अन्यत्र प्रयोग बढी हुन लागेकाले खेती लोप हुने अवस्थामा पुगेको रामपुर नगरपालिकाका कृषक सरस्वती सोमै बताउँछिन् ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन १, २०७४