शुक्रबार, बैशाख ७, २०८१

रासायनिक मलको अभाव देखाउँदै सिराहामा कालोबजारी

काठमाडौं, पुस । यतिखेर गहुँबाली छर्ने चटारोमा किसानहरु लगिरहेको छन् । तर तराईका जिल्लाहरुमा रासायनिक मल अभाव हुँदा किसानहरुले हैरानी खेप्नु परेको छ । तराई २२ जिल्लाहरु मध्ये प्राय सवै जसो जिल्लामा मलको हाहाकार भएको छ । खेतीको सिजनमा रासायनिक मलको अभाव भएपछि किसान चिन्तित बनेका छन् । बीउ छर्ने बेलामै डिएपी र युरिया मलको अभाव भएपछि गाउँ–गाउँबाट सदरमुकाम आउने किसानले रित्तो हात फर्किनुपरेको गुनासो गरेका छन् । सिराहा जिल्लाका किसानहरु प्नि रासायनिक मलको अभावमा भौतारिएका छन् । सिरहाको गोविन्दपुरबाट डिएपी मल लिन लहान पुगेका मो मस्तिकिमले तीन दिनदेखि धाउँदा पनि मल नपाएपछि रित्तो हात फर्कनुपरेको गुनासो गरेका छन् । उनले धान काटेर गहुँ लगाउने बेलामा मल नपाएका कारण खेत बाँझै राख्नुपर्ने अवस्था आएको दुःखेसो पाखे । कृषि सामग्री कम्पनी लहानबाट उपलब्ध भएको थोरै डिएपी र युरिया मल स्थानीय डिलरहरूले अत्यधिक महँगोमा बेच्ने गरेको र अधिकांशले त्यो पनि नपाउने अवस्था रहेको किसानले गुनासो गरेका छन् । जिल्लाका सहकारी संस्थाले भने तीन–चार दिन धाएपछि मात्र कृषि सामग्री कम्पनी शाखा लहानमार्फत थोरै परिमाणमा डिएपी र युरिया मल पाउने गरेको र ढुवानी खर्च अत्यधिक हुँदा महँगोमा बेच्नुपरेको बताएका छन् । यता कृषि सामग्री कम्पनी शाखा लहानका शाखा प्रबन्धक चन्द्रप्रसाद चौलागार्इंले युरिया र डिएपी मल सहजरूपमा आपूर्ति हुन नसकेकाले जिल्लामा रासायनिक मलको अभाव भएको बताए । उनका अनुसार कम्पनी शाखाको गोदाममा मात्र ४८५ बोरा डिएपी मल रहेका छन् युरिया मल एक बोरा पनि गोदाममा छैन । गत कात्तिक महिनायता हालसम्म युरिया मल सात हजार ५०० बोरा र डिएपी १२ हजार २१७ बोरामात्र आपूर्ति भएको कृषि सामग्री कम्पनीले जनाएको छ । कम्पनीले युरिया प्रतिबोरा रु ७३८ र डिएपी रु दुई हजार १८८ का दरले बिक्री वितरण गर्दै आए पनि सहकारी संस्थाले निर्धारित मूल्यभन्दा बढी मूल्यमा रासायनिक मल बिक्री वितरण गर्ने गरेको किसानको गुनासो छ । रासायनिक मलको अभाव रहेको मौका छोपी सहकारीले बढी मूल्य लिएर रासायनिक मल बेचेको विषयमा आफ्नो कार्यालयमा हालसम्म उजुरी नपरेको प्रबन्धक चौलागार्इंको भनाइ छ ।

प्रकाशित मिति: आइतवार, पुस ३०, २०७४