शनिबार, बैशाख ८, २०८१

मह बेच्न बजारको खोजी

मोरङ, वैशाख  । मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् ।

आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजी गरिरहेका हुन् । उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका ८८ जना किसान व्यावसायिक मौरीपालनमा लागेपछि महको उत्पादन बढेका कारण मह बेच्ने ठाउँ नहुँदा समस्या भएको हो ।

स्थानीय बजारको मागभन्दा बढी उत्पादन भएपछि किसान घरमै मह भण्डारण गरी बजार खोज्न थालेको मेलीफेरा मौरीपालन सहकारी संस्था अध्यक्ष बोधराज खतिवडाको भनाइ छ । उर्लाबारी क्षेत्रमा मात्र यो मौसममा ९० क्विन्टल मह उत्पादन भएको संस्थाका अध्यक्ष खतिवडाले सुनाए ।

किसान रमेश खड्काका अनुसार तोरी फुल्ने मौसममा भन्दा जंगली बिरुवा फुल्ने मौसममा मह बढी उत्पादन भएको छ । एक दिन अघि मह काढेका खड्काले घरमा धान भण्डारण गरे जसरी नै मह राखेको सुनाए । उनले भने, ‘मह यति धेरै उत्पादन भयो कि किनेर ल्याएका सबै भाडा भरिएर घरका जग, अंखोरामा पनि मह राख्नुपर्ने अवस्था छ ।’

खड्काले यो वर्ष तोरी फुलेको सिजनमा चार क्विन्टल र जंगली फूलको मौसममा दुई क्विन्टल गरी ६ क्विन्टल मह उत्पादन गरेका छन् । उनले हाल २५ घार मौरी पालेका छन् ।

गत वर्ष पाँच क्विन्टल मह उत्पादन गरेका खड्काले भने, ‘क्विन्टल बिक्री भयो । एक क्विन्टल मह मौरीलाई खुवाएर सकेँ ।’

अध्यक्ष खतिवडासँग अहिले ७० घार मौरी छन् । एक पटकमा एक घारबाट १० किलोसम्म मह उत्पादन हुने खतिवडाको भनाइ छ ।

अर्का किसान भोला पोख्रेलको १३ घारबाट ११४ किलो, हरि विष्टको १६ घारबाट १०८ किलो र नवीन कार्कीको १० घारबाट ८० किलो मह दुईदिन अघि मात्र काढिएको हो ।

मौरीपालन विकास शाखा, गोदावरीका प्राविधिक सहायक सुवास खनालको प्रत्यक्ष निगरानीमा मह काढेका किसान डाबर र पतञ्जलीको महको प्रयोगलाई घटाउन सरकारी स्तरबाट जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँछन् ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ४, २०७५