शुक्रबार, चैत्र १६, २०८०

भिसा त्यागेर च्याउ खेतीमा युवा

अमरगढी, चैत  । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. १ असिग्रामका दुई युवाले खाडी मुलुकको भिसा त्यागेर च्याउ खेती सुरु गरेका छन् । पाँच लाख रुपियाँको लगानीमा भूमिराज असिग्राम कृषि फर्म दर्ता गरी उनीहरू व्यावसायिक च्याउ खेतमा जुटेका हुन् ।
मलेसिया जाने मनसाय बनाएका स्थानीय युवा विष्णु भट्टले पनि काठमाडौँमा च्याउ खेतीसम्बन्धी तालिम लिएर अहिले सो व्यवसाय सुरु गरेका हुन् ।
यस्तै अर्का कोरियन भाषाको पढाइ सकेर कोरिया जाने मनसाय बनाएका खेम जाशीले उनलाई साथ दिईरहेका छन् ।उनीहरूको संयुक्त लगानीमा निर्माण गरिएको कृषि फर्मको एक औपचारिक कार्यक्रमका बीच गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नबलसिह मल्लले उद्घाटन गरेका छन् ।
अध्यक्ष मल्लले युवाले गरेको च्याउ खेतीको प्रशंसा गर्दै एक महिनाभित्र अनुदान उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । गाउँपालिकाले कुल बजेटको ३५ प्रतिशत रकम कृषि क्षेत्रमा लगाएको स्मरण गराउँदै अध्यक्ष मल्लले गन्यापधुरा कृषिका लागि उपयुक्त जमिन भएको ठाउँ भएकाले सबैलाई व्यावसायिक कृषि गर्ने सुझाव दिए  ।
जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जिल्ला कृषि विकास कार्यालयले किसानलाई प्राविधिक सहयोगका लागि सधँै तयार रहेको बताए  । जिल्लामा सुपर जोन कार्यक्रम लागू भएकाले अब यो क्षेत्रलाई च्याउ उत्पादनको पकेट क्षेत्र बनाउन सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।
युवाले व्यक्तिगत लगानीमा उत्पादन गरेको च्याउलाई बजारको समस्या रहेको दुखेसोसमेत पोखेका छन् । अहिले फर्मले दैनिक ४५ देखि ६० किलोसम्म उत्पादन गरी बिक्री वितरण गरिरहेको छ । अहिले उक्त च्याउको प्रतिकिलो तीन सय रुपियाँदेखि चार सय रुपियाँसम्ममा बिक्री भइरहेको उनीहरूले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत्र ३०, २०७४