बिहिबार, चैत्र १५, २०८०

बुटवलमा शुरू भयो सुन्तलाको बजार

रूपन्देही । रूपन्देहीमा यस वर्षको सुन्तलाको बजार शुरू भएको छ । बुटवल कृषि उपज तथा थोक बजार केन्द्रले मङ्सिर लागेसँगै औपचारिक रूपमा सुन्तलाको कारोबार सुरू गरेको हो । मङ्सिरदेखि माघको पहिलो सातासम्मलाई सुन्तलाको मुख्य सिजन मानिन्छ ।

कात्तिकको तेस्रो हस्तादेखि बजारमा सुन्तलाको खरीद/विक्री शुरू भए पनि थोक बजार केन्द्रले गत शुक्रवारबाट औपचारिक रूपमा कारोबार सुरू गरेको बताएको छ । अहिले बजारमा हरिया सुन्तला आएका छन् ।  orange

केन्द्रका अध्यक्ष कलाधर पन्थीले बुटवल कृषि उपज केन्द्रमा अहिले दैनिक ३० देखि ३५ क्विण्टलसम्म सुन्तला भित्रिए थालेको जानकारी दिए । गतवर्षभन्दा अहिले सुन्तलाको राम्रो नभएको किसानले बताएका छन् । तर, यो वर्ष किसानले सुन्तलाको मूल्य भने राम्रो पाउनेछन् ।  सरकारले यस वर्ष मङ्सिरमा ४०, पुसमा ५० र माघमा ६० रुपैयाँ सुन्तलाको मूल्य निर्धारण गरिएको छ ।

‘गतवर्षको तुलनामा यस वर्ष खासै राम्रो सुन्तला उत्पादन भएको पाइएन,’ अध्यक्ष पन्थीले भने, ‘३ महीने यो छोटो सिजनमा केन्द्रमा ३० देखि ३५ करोडसम्मको कारोबार हुने लक्ष्य छ ।’ बजारमा अहिले सुन्तलाको थोक मूल्य ४०  रुपैयाँ रहेको अध्यक्ष पन्थीले जानकारी दिए । सुन्तला १ वर्ष राम्रो र अर्को वर्ष कम उत्पादन हुने किसानको भनाइ छ ।

गतवर्ष केन्द्रमा ३५ करोड रुपैयाँको सुन्तलाको कारोबार भएको थियो भने करीब ३ सय मेट्रिक टन सुन्तला बुटवल झरेको थियो । केन्द्रमा गुल्मी, पाल्पा, अर्घाखाँची र स्याङ्जाबाट सुन्तला भित्रिने गर्छ । बुटवलमा मात्रै अहिले दैनिक १ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्मको सुन्तला विक्री हुन थालेको छ । बुटवल कृषि उपज तथा थोक बजार केन्द्रबाट तराईका २२ जिल्लासँगै पूर्वमा झापा र पश्चिममा कञ्चनपुर महेन्द्रनगरसम्म पुग्ने गरेको छ । बुटवल बजारमा हुने सुन्तलाको व्यापारमध्ये झण्डै ८० प्रतिशत सुन्तला स्याङ्जाबाट आउने गर्दछ । बुटवलमा नेपाली सुन्तला झरेपछि भारतीय सुन्तला प्रतिस्थापित भएको छ । तर, नेपाली सुन्तलाको बजार सकिएपछि (माघपछि) पुनः भारतीय सुन्तला नेपालमा भित्रिने गर्छ । भारतबाट यहाँ प्रत्येक वर्ष ५० करोड रुपैयाँसम्मको सुन्तला आउने केन्द्रको भनाइ छ ।

अहिले रूपन्देही बजारका चोक–चोकमा हरेक ठेलामा सुन्तलाको व्यापार शुरू भएको छ । ‘जाडो सिजन भए पनि ग्राहकको मुख्य रोजाइ भनेको सुन्तला नै हुन्छ,’ बसपार्कमा ठेलामा फलफूलको व्यापार गर्दै आएका कविराज रिजालले भने, ‘जाडो बढ्दै गएपछि कारोबार पनि दोब्बर हुँदै जान्छ ।’ रूपन्देहीको मुख्य बजार र विभिन्न चोक–चोकमा सञ्चालनमा रहेका ठेला व्यापारीले पनि अन्य फलफूलको तुलनामा सिजनको बेला आफूहरूले सुन्तला बढी बेच्ने गरेको अनुभव सुनाए ।

प्रत्येक वर्ष सुन्तला विक्री गर्दा आफूहरूले मूल्य पाउन नसकेको किसानले गर्दै आएको गुनासो यस वर्षबाट भएको छ । किसानबाट व्यापारीले जम्मा प्रतिकेजी ४० रुपैयाँमा खरीद गरेर ७० रुपैयाँसम्म विक्री गर्ने गर्छन् । जसले गर्दा सुन्तला उत्पादन गर्ने किसानले भन्दा बिचौलियाले खाने गरेको पाइन्छ । तराईका जिल्लामा सुन्तला उत्पादन हुँदैन । समुद्री सतहदेखि १ हजार मिटरको उचाइमाथि मात्र फल्ने गर्छ विशेष गरी हिमालका हावा चल्ने स्थानमा सुन्तला राम्रो फल्ने कृषि विज्ञको भनाइ छ ।

सुन्तलासँगै अहिले बजारमा स्याउ र केराको आयात वृद्धि भएको छ । कृषि उपज तथा थोक बजार केन्द्रले स्याउ र केराको आयात बढाएको हो । बुटवलको कृषि उपजमा आएको २० देखि ३० प्रतिशत फलफूल रूपन्देहीमै खपत हुन्छ भने बाँकी बाहिरी जिल्लामा पठाइने गरिएको छ ।- विपी गौतम

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०७४