शनिबार, बैशाख ८, २०८१

बालीमा लाग्ने रोगप्रति सजग रहन किसानलाई सुझाव

ललितपुर, जेठ । नेपालका अधिकांश किसान बालीमा लाग्ने रोगको उपचारका लागि सजग रहेका पाइदैनन् । बालीमा लागेको रोगले बोट नै नष्ट भइसकेपछि मात्रै किसान रोगको जाँच गर्नका लागि प्रयोगशाला पुग्ने गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको बाली रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

बालीमा रोग लाग्नासाथ समाधान सम्भव भए पनि किसान ढिलो आउँदा बाली नष्ट भइसक्ने महाशाखामा कार्यरत वैज्ञानिक चेतना मानन्धरले बताएका छन् । बालीमा कुनै पनि खालको समस्या देखिनासाथ किसान एग्रो भेट पुग्ने गरेका छन् । एग्रो भेटले हेर्दै नहेरी किसानलाई बिरुवामा प्रयोग गर्न विषादी दिन्छन् । एकथरी समस्या र अर्को उपचार हुँदा रोग नियन्त्रण नहुने गरेको उनी बताउछन् ।

फरक किसिमका बालीमा फरक खालका रोग लाग्ने वैज्ञानिक मानन्धर बताउछन्। कतिपय रोग पहिले सानो रुपबाट शुरु भएर पछि बालीको सबै भागमा फैलन्छ र बोट नै कुहाउने वा सुकाएर उत्पादन ठप्प गर्ने खालका रोग धेरै छन् । कतिपय अवस्थामा रोगले नभएर कीराले बोटमा आक्रमण गर्दा बिरुवामा असर देखिन्छ । मानन्धर भन्छन् “यहाँ किसान आएपछि नै हामी रोग वा कीरा पत्ता लगाएर समाधानको उपाय बताउँछौं । अरु देशबाट बिरुवा वा बीउ ल्याउँदा कतिपय खालका रोग पनि सँगै नेपाल भित्रिरहेका छन् ।”

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ११, २०७५