शुक्रबार, चैत्र १६, २०८०

बाँकेमा बीस हजार मे.टन तरकारी उत्पादन

नेपालगञ्ज, चैत  । बाँकेमा गत आर्थिक वर्षमा वसन्ते तरकारी खेतीको उत्पादनमा उल्लेख्य रूपमा वृद्धि भएको छ । गएको वर्ष जिल्लामा त्यसको अघिल्लो वर्षभन्दा २५ प्रतिशतले तरकारी उत्पादन बढेको जिल्ला कृषि विकास कार्यालय बाँकेले जनाएको छ ।

विगतका वर्षभन्दा वसन्ते तरकारी खेती गर्ने किसानको सङ्ख्या र जमिन बढेपछि उत्पादन पनि बढेको होे । जिल्लामा एक हजार एक सय ९९ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा वसन्ते तरकारी खेती हुँदै आएको कृषि विकास कार्यालयसँग तथ्याङ्क छ । लगानी अनुसारको प्रतिफल पाइन थालेपछि बाँकेमा वसन्ते तरकारी खेतीप्रतिको किसान आकर्षण बढ्दै गएको सो कार्यालयका सूचना अधिकारी धनबहादुर पुनले बताए ।
आर्थिक वर्ष २०७२/०७३ मा बाँके जिल्लामा १६ हजार तीन सय ३१ मेट्रिक टन वसन्ते तरकारी उत्पादन भएको जनाउँदै सूचना अधिकारी पुनले आर्थिक वर्ष २०७३/०७४ मा वर्ष २० हजार चार सय २० मेट्रिक टन तरकारी उत्पादन भएको जानकारी सङ्कलन भएको बताए ।
चालू आर्थिक वर्षमा पनि करिब २१ हजारभन्दा बढी मेट्रिक टन तरकारी उत्पादन हुने अनुमान गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।
भिण्डी, लौका, काँक्रा, फर्सी, करेला, खुर्सानी, बोडीलगायतका तरकारी बाँकेमा राम्रो उत्पादन हुन थालेको छ । केही समय पहिलेसम्म भारतीय तरकारीमा निर्भर रहने गरेको बाँकेका कृषकले उत्पादन गरेको तरकारी छिमेकी जिल्ला सुर्खेत, दैलेख, दाङसम्म निर्यात हुने गरेको कृषि विकास कार्यालय बाँकेका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कृष्णबहादुर बस्नेतले बताए ।
उनले आलु र प्याज अझै पनि केही मात्रामा छिमेकी भारतको रुपैडिहा बजारबाट आयात भए पनि अन्य तरकारीका लागि भने यहीको उत्पादन पर्याप्त हुने गरेको र अन्य जिल्लामा समेत पठाइने गरिएको बताए ।
तरकारीमा किसानहरूको आकर्षण बढेपछि जिल्ला कृषि विकास कार्यालयले पनि किसानहरूलाई प्राविधिक सहयोग पु¥याउँदै आएको छ ।
किसानहरू व्यावसायिक रूपमा वसन्ते खेतीतर्फ लागेपछि जिल्ला कृषि विकास कार्यालयले सिँचाइ सुविधासमेत उपलब्ध गराउने गरेको कार्यालयका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत पुनले बताए ।
जिल्लाको हिरमिनिया, पुरैनी, साइगाउ, पुरैना, खजुरा, बागेश्वरी, महादेवपुरीलगायतका क्षेत्रमा सबैभन्दा बढी तरकारी उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत्र ३०, २०७४