बुधबार, बैशाख १२, २०८१

प्याजको मूल्य तीन गुणा बृद्धि ! हेर्ने कसले?

 काठमाडौं, मंसिर । प्रत्येक घरको भान्सामा अनिवार्य खपत हुँदै आएको प्याजको मूल्य अत्यधिक बढ्दा विशेष गरी सहरी क्षेत्रका बासिन्दाको तनाव बढेको छ । गत वर्ष ४५ रुपैयाँ प्रतिकेजीमा उपभोक्ताले खरिद गरेको प्याजको मूल्य बिहीबार १ सय २५ रुपैयाँदेखि १ सय ४० रुपैयाँमा खरिद गरिरहेका छन् । प्याजको मूल्यमा ३ सय प्रतिशतभन्दा बढी वृद्धि भएपछि उपभोक्ताहरू अतालिन थालेका छन् । केही दिनयता तरकारीको भाउ घटेर खुसी देखिएका उपभोक्ता प्याजको मूल्य वृद्धि भएपछि पुनः निराश हुन थालेका छन् । सहरी क्षेत्रका बासिन्दाले बढी उपभोग गर्ने प्याजमा मुलुक पूर्ण रूपले निर्भर हुँदा महँगीको मार खेप्नुपरेको हो ।

नेपालमा आयात हुने प्याजमध्ये भारतबाट सबैभन्दा धेरै ९५ प्रतिशतसम्म र चीनबाट करिब ५ प्रतिशतpayaj आयात हुन्छ । काठमाडौंमा प्याज आपूर्ति गर्ने थोक विक्रेता प्रकाश गजुरेलका अनुसार अहिले भारतीय बजारमा प्याजको भाउ अकासिँदा काठमाडौंलगायत प्रमुख सहरमा असर परेको हो । ‘भारतमा प्रतिकिलो ४ देखि १० भारुमा खरिद गर्दै आएको प्याज बिहीबार ३५ भारु पुगेको छ,’ गजुरेलले भने, ‘भारतीय बजारमै मूल्य अकासिएको र त्यहीँबाट ल्याउने कारण नेपाली बजारमा थप मूल्य बढेको हो ।’ भारतले प्याज निर्यातलाई निरुत्साहित गर्न ८ सय ५० डलर प्रतिटन न्यूनतम समर्थन मूल्य तोकेको छ । यो व्यवस्थापछि नेपाली व्यवसायीले भारतबाट कम्तीमा ८ सय ५० टन प्रतिडलर मूल्य तिरेर मात्रै प्याज खरिद गर्नुपर्ने बाध्यात्मक अवस्था बनेको छ ।

‘पहिले व्यवसायीलाई पैसा तिर्ने र भन्सारको नियमाअनुसार प्रक्रिया पूरा गरेर प्याज आयात हुन्थ्यो,’ व्यवसायीले गजुरेलले भने, ‘अब प्रतितपत्र (एलसी) खोलेर मात्रै प्याज ल्याउनुपर्ने बाध्यता बनेको छ ।’ तरकारी व्यवसायीका लागि एलसी खोलेर भारतबाट आयात गर्नु नौलो प्रणाली हो । त्यसैले उनीहरू तीन–चार दिन एलसी खोलेर प्याज ल्याउने गृहकार्यमा जुटे । जसकारण पछिल्लो तीन–चार दिन काठमाडौंमा प्याज आयात नै कम भयो ।

कालिमाटी बजार समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार तीन–चार दिनदेखि एक दिनमा एक ट्रक वा दुई दिनमा एक ट्रक मात्रै प्याज आइरहेको छ । ‘सामान्य अवस्थामा दैनिक ५–६ ट्रक प्याज आउँथ्यो,’ उनले भने, ‘भारतले न्यूनतम समर्थन मूल्य तोकेपछि भन्सार जाँचपासमा कडाइ भएको छ । व्यवसायीले भन्सारले खोजेजस्तो कागजपत्र बनाउन समय लागेकाले प्याज आयात नै कम भएको हो ।’

भारतमा मूल्य घटे मात्रै नेपालमा कम हुने
अहिले प्याजको भाउ निरन्तर उकालो लागेपछि आम उपभोक्ताले कहिलेबाट घट्छ भन्ने प्रश्न गरिरहेका छन् । ‘भारतमा नघटेसम्म नेपालमा घट्दैन,’ व्यवसायी गजुरेलले भने । उनले सरकार र व्यवसायीले उत्पादनमा जोड नदिँदा अहिले अनावश्यक महँगीको मार खेप्नुपरेको बताए । ‘हामी प्याज उत्पादनमा सबल नहुँदा अहिले भारतमा बढेको भाउको असर खेपिरहेका छौँ,’ उनले भने ।

चिनियाँ प्याज पनि आउँदै
नेपाली बजारमा जब प्याजको भाउ ५० रुपैयाँ प्रतिकिलो नाघ्छ, तब चिनियाँ प्याज भित्रिन थाल्छ । अहिले प्याजको भाउ डेढ सयनजिक पुगेका कारण चीनबाट आयातको प्रबन्ध मिलिसकेको व्यवसायी गजुरेलले बताए । ‘यहाँ प्याजको भाउ अचाक्ली महँगिएका कारण चीनबाट प्याज ल्याउने बन्दोबस्ती मिलिसकेको छ,’ उनले भने, ‘सायद एक हप्ताभित्र चिनियाँ प्याज काठमाडौंको बजारमा देखिन्छ ।’

तुलनात्मक रूपमा सस्तो भए पनि चिनियाँ प्याज उपभोक्ताले मन पराउँदैनन् । कम गुणस्तर र ठूलो हुने कारण महँगो मूल्य तिरेर भए पनि उपभोक्ताले भारतीय प्याज नै रोज्ने गरेको व्यवसायीसँग अनुभव छ । ‘एक महिनाअघि पनि बजारमा प्याजको भाउ बढेको थियो, त्यसवेला थोरै चिनियाँ प्याज आएको थियो,’ गजुरेलले भने, ‘उपभोक्ताले महँगो मूल्य तिरेर भए पनि भारतीय प्याज नै खरिद गर्ने गरेको देखिन्छ ।’

नेपालको उत्पादनले १५ दिन पनि पुग्दैन
कालिमाटी बजारमा भारतीय प्याज दिनहुँ करिब एक सय ५० टन भित्रिन्छ । भारतीय प्याज नआए सहरी क्षेत्रका बासिन्दाको भान्सा खल्लो हुने गरेको छ । बजारमा नेपाली प्याज देख्नसमेत पाइँदैन । व्यवसायीका अनुसार सिजनमा १५ दिन नेपाली प्याज देखिन्छ । ‘नेपाली प्याजले बढीमा १५ दिनसम्म मात्रै माग धानेको रेकर्ड छ,’ थोक व्यवसायी गजुरेलले भने । कृषि विकास मन्त्रालयले पनि प्याज उत्पादनमा चासो दिएको छैन ।- नयाँ पत्रिकाबाट

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४