बिहिबार, चैत्र १५, २०८०

पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस चितवनमा मनाइने

चितवन, १६ पुस ।  पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस विशेष कार्यक्रमका साथ पूर्वी चितवनमा मनाइने भएको छ । पाँच वर्ष अघि २०७० सालमा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय गरेको थियो । नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष एवं पाँचौँ राष्ट्रिय पोल्ट्री दिवसका संयोजक डा होमबहादुर बस्नेतले यस वर्षको पोल्ट्री दिवसमा पोल्ट्री क्षेत्रको विकाससंग सम्बन्धित गोष्ठी गरिने उहाँले बताउनुभयो । यसअघि ¥यालीको आयोजना गरिने भएको छ । यसै अवसरमा आज टाँडीस्थित बकुलहर अस्पतालमा रहेका बिरामीलाई निःशुल्क अण्डा वितरण गरिने उहाँले बताउनुभयो ।
पोल्ट्री दिवसलाई पोल्ट्री व्यवसायीको चाडको रुपमा मनाउनुपर्छ भन्ने मान्यताअनुरुप नेपाल सरकार पशुसेवा विभाग पशुपक्षी बजार प्रवद्र्धन निर्देशनालय, पशु उत्पादन निर्देशनालय र नेपाल कुखुरा व्यवसायी मञ्चको संयुक्त आयोजनामा रत्ननगरमा समग्र पोल्ट्री क्षेत्रको विकासको लागि नीतिगत गोष्ठी आयोजना गरेर मनाउन लागिएको बस्नेतले बताउनुभयो ।
कार्यक्रममा पोल्ट्री व्यवसायीको समसायमिक अवस्था र गुनासो, मासु र अण्डामा पाइने पोषण तत्वका विषयमा कार्यपत्र प्रस्तुत गरिने नेपाल अण्डा व्यवसायी महाँसंघका अध्यक्ष शिवराम केसीले जानकारी दिनुभयो । पोल्ट्री व्यवसायीको समसायमिक अवस्थाको बारेमा डा रेवन्त भट्टराई र मासु र अण्डामा पाइने पोषण तत्व र मानिसको शरीरमा ती तत्वको आवश्यकताबारे पुष्पाञ्जली अस्पतालका डा भोजराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा पोल्ट्री व्यवसायीसँग सम्बन्धित ७०० जना सहभागी हुने आयोजकको अनुमान छ । यसअघि तीन पटक चितवनमा र एक पटक झापामा राष्ट्रिय पोल्ट्री दिवस मनाइएको थियो । चितवन पोल्ट्री उत्पादनको हिसाबले अग्रणी जिल्लाको रुपमा छ ।

प्रकाशित मिति: आइतवार, पुस १६, २०७४