शुक्रबार, चैत्र १६, २०८०

पशुपन्छीका लागि एम्वुलेन्स ल्याउने तयारी गरेका छौं

dr-ramkumar

डा. रामकुमार मण्डल
प्रमुख
केन्द्रीय पशु चिकित्सालय

० पशु चिकित्सालयले के गरिरहेको छ ?
अहिले केन्द्रीय पशु चिकित्सालय आफना् नयां भवन निर्माण गरी पशु चिकित्सा सेवालाई अझ प्रभावकारी र वैज्ञानिक ढंगले अगाडि बढाउने अभियान जुटेको छ । यो नेपालको पहिलो र सवैभन्दा पुरानो पशु चिकित्सालय रुपमा रहेको छ । यसले खासगरी पशुपन्छीका क्षेत्रमा देखा परेका, क्षेत्रीय स्तरमा देखा परेका रोगहरुलाई समेत रिफर गर्न सक्ने अस्पतालका रुपमा विकास गर्न लागिरहेको छौं । यो चिकित्सालय काठमाडौंमा रहेको हुनाले अहिले पशुपन्छी भन्दा पनि कुकुर र विरालोहरुको उपचार बढी हुने गरेको छ । वरिष्ठ चिकित्सक र दक्ष प्राविधिकहरुबाट नै अहिले पशु उपचार भईरहेको छ ।
० केन्द्रीय स्तरमा रहेको यो चिकित्सालयका बारेमा धेरै जानकार छैनन् भन्छन् त ?
सहि कुरा गर्नु भो । खास गरी केन्द्रीय पशु चिकित्सालय केन्द्रका रुपमा बसेको छ । यसलाई खास गरी भौतिक संरचना नभएका कारण अनभिज्ञ भएको जस्तो लाग्छ । तर अव हामीले छिट्ट पाँचतले आधुनिक भवन निर्माण गर्दै छौं । अत्यधिक सेवा सुविधा सहितको यो चिकित्सालय अव नौलो एउटा इतिहास बन्छ र शिक्षण अस्पतालको रुपमा हुने भएको हुनाले एक दुई बर्ष भित्रै नै चिकित्सालयले बढी चर्चा पनि पाउने छ ।
० कुकुर विरालालाई उपचार गरेर मात्र नेपालको पशु चिकित्सालयको खास रहिरहंला त ?
खास गरी अहिलेको अवस्थालाई हेर्ने हो भने केन्द्रीय पशु चिकित्सालय शहरीकरणका कारण गाई, भैसी लगायतका बस्तुको रोग निदानका लागि यही ल्याएर उपचार गराउन गाह्रो भएको हो । ठूला बस्तुको रगत परिक्षण गर्ने, गोवर जांच गर्ने र लक्षण देखिएका कुराहरुलाई किसानहरुलाई सल्लाह दिंदै आईरहेका छौं । अलि असहज नै भएको छ भने हामी आफै पनि किसानको गोठमा नै पुगेर उपचार गर्दै आईरहेका छौं । कुकुर विरालामात्र उपचार गरेको होइन, शहरी केन्द्रीत भएकाले घरपालुवा जनावरहरु नै बढी उपचारका लागि ल्याईने भएकोले त्यस्तो देखिएको हो । काठमाडौंको अस्तव्यस्तता, बाटोघाटोले गर्दा ठूला पशु ल्याउन सहज हुनाले साना पशुबस्तुहरुको मुख्य अप्रेसन समेत यही हुने गरेको छ ।
० काठमाडौंको नजिकका कांठ क्षेत्रमा पनि पशुपालन व्यवासय फस्टाउंदै गईरहेको छ । त्यहाँका किसानहरुले के गर्ने त ?
यसमा दुईवटा कुरा छन् । एउटा त जिल्ला जिल्लामा पनि ग्रामिण भेगसम्म पशु सेवा केन्द्रहरु छन् । जिल्लामा पशु सेवा कार्यालयहरु छन् । त्यसबाट पनि किसानहरुले सेवा पाईरहेका छन् । केन्द्रीय रुपमा पशु चिकित्साले त्यस्तै रिफरल घटनाहरुको उपचार गर्ने र किसानकै दैलोमा पुगेर उपचार गर्ने गरेका छौं ।
० यस्ता केन्द्रीय पशु चिकित्सालयहरु त पशुपन्छी पालन बढी गर्ने क्षेत्रहरुका स्थापना गरिए राम्रो हुन्थ्यो होला नि ?
अहिले नेपाल सरकार पशुपन्छी विकास मन्त्रालयको पशु सेवा विभाग र अन्तर्गतको जिल्ला पशु सेवा कार्यालयहरुले छुट्टै सेवा दिन्छन् खास गरी पशु चिकित्सकहरु र दक्ष प्राविधिक जिल्ला स्तरमा पनि बस्ने भएकाले किसानहरुलाई सेवा उपलब्ध छ । तर यो चिकित्सालय रिफरलका रुपमा भएकाले पनि केन्द्रमा नै रहेको छ ।
० सेवाग्राहीको माग चाहि के छ ?
विशेष गरी यो सेवाग्राहीको मागलाई हेर्ने हो भने मुख्य रुपमा प्राविधिक कुरा नै हो जनशक्ति अभाव छ । जनशक्ति अभावका कारण सेवाग्राहीले सोचे अनुरुप सेवा पाउन नसकेको पनि हुन सक्छ । अहिले किसानहरुलाई सहज बनाउनका लागि भिडियो हेरेर लक्षणहरुका आधारमा पनि उपचार सल्लाह दिईरहेका छौं । सेवाग्राहीको माग नै आधुनिक र बैज्ञानिक उपचार पद्दतीको हो । त्यसका लागि हामी प्रयत्नरत छौं ।
० विगत र अहिलेको पशु चिकित्सालयलाई हेर्ने हो भने के फरक भएको छ त ?
धेरै राम्रो प्रश्न गर्नु भो । पशु चिकित्सालय विगत र अहिलेमा धेरै परिवर्तन हुंदै गईरहेको छ । खासगरी भवन निर्माण हुंदै गईरहेकाले अहिले भवनको समस्या छ यो पनि हामीले व्यवस्थापन गरिरहेका छौं दुई तीन बर्षमा भवन निर्माण भएपछि धेरै परिवर्तन देखिन्छ । अव हामीले सवै खालको उपचार सामग्री आईसकेपछि बैज्ञानिक र आधुनिक प्रविधिबाट उपचारका लागि सक्रिय रहन्छौं । विशेष गरी शिक्षण अस्पतालका रुपमा यसलाई विकास गर्न लागिएकाले पनि केही समय पश्चात धेरै सुविधाहरु पशुपालनमा सक्रिय किसानहरुले पाउनु हुनेछ । टेलिमेडिसिनको मार्फत उपचार, सेवा केन्द्रदेखि जिल्ला, क्षेत्रीय क्षेत्रमा उपलब्ध गराउने छौं । यो अत्यन्तै आधुनिक र नयां हो । यो शुरुवात भएपछि हाम्रा किसानहरुले उपभोग गर्न पाउने छन् र नेपालको पशु स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण र नौलो प्रयोग पनि हुन्छ ।
० जति नै आधुनिक रुपमा पशु चिकित्सालय स्थापना गरेपछि ठूला पशुहरु यहांसम्म ल्याउन त मुश्किल नै हो ?
ठूला पशुहरुको उपचारका लागि कतिपयले ल्याउन सक्नु हुन्छ । हामीले रोग निदान गर्नको लागि कुनै फार्ममा धेरै बस्तुहरु विरामी भए भने स्थलगत रुपमा नै गएर रोग निदानका लागि परिक्षण गर्ने गरेका छौं । परिक्षण पश्चात रोगको पत्ता लगाएर मात्र उपचारतिर जान्र्छाैं । त्यसकारण सहज विधि अपनाईरहेका छौं । जनु की त्यो नेपालमा थिएन । हामीले ठूला पशुहरुका लागि यातायातको व्यवस्था गर्ने तयारी गरिरहेका छौं ।
० त्यसो भए पशुहरुको एम्वुलेन्स ल्याउने तयारी गरेको हो ?
त्यसको लागि पनि हामीले तयारी गरिरहेका छौं । पशु बस्तुहरुको तत्काल उपचार गर्नका लागि एम्वुलेन्स ल्याउने सोच नभएको होइन । पशु सेवा विभागले पनि विगतदेखि नै त्यसको लविङ्ग गरिरहेको छ । हामीले ठूला तथा साना पशुहरुका लागि एम्बुलेन्स सेवा दिन सक्यौं भने पनि त्यसबाट व्यवसायिक रुपमा पशुपन्छी पालन गर्ने किसानहरुका लागि पनि निकै नै सजिलो हुन्छ । –वैकुण्ठ भण्डारी

प्रकाशित मिति: मङ्लबार, पुस १९, २०७३