बिहिबार, चैत्र १५, २०८०

नमूना च्याउ घरबाट रु नौ लाख आम्दानी

कञ्चनपुर, २१ माघ । बेलौरी नगरपालिकामा बनाइएका दश वटा नमूना च्याउ घरबाट रु नौ लाख बराबरको च्याउ बिक्री भएको छ । नगरपालिकाको कृषि शाखाको आव २०७४÷७५ को कार्यक्रम अन्तर्गत रु दुई लाख अनुदान रकमबाट १० वटा वडामा च्याउ घर निर्माण गरी च्याउ उत्पादन गरिएको हो ।
च्याउ घरबाट किसानले चार हजार ५०० किलोग्रामभन्दा बढी च्याउ उत्पादन गरेको कृषि शाखाका प्रमुख रणबहादुर मल्लले बताए । उत्पादित च्याउ रु २०० प्रतिकिलोग्रामका दरले हालसम्म रु नौ लाख मूल्य बराबरको च्याउ बिक्री भएको र अझै च्याउ घरमा रु चार लाखभन्दा बढीको च्याउ बिक्रीका लागि तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।
च्याउ घरमा च्याउको व्यावसायिक उत्पादनमा लागेका मीना चौधरीले च्याउको बीउ राखेको एक महिनाको अवधिमै रु एक लाखभन्दा बढी उत्पादित च्याउ बिक्री गरी आम्दानी गरेको बताए ।

प्रकाशित मिति: आइतवार, माघ २१, २०७४