शुक्रबार, बैशाख ७, २०८१

खाद्य संस्थानलाई किसानले धान बेचेनन्

सिरहा, २० फागुन। बजार मूल्य अनुसार धान खरिदको दर निर्धारण हुन नसक्दा लहानस्थित नेपाल खाद्य संस्थानको सगरमाथा अञ्चल कार्यालयले लक्ष्यअनुसार धान खरिद गर्न सकेको छैन । 
नेपाल खाद्य संस्थान लहानले दुई पटक धानको खरिद मूल्यको दररेट निर्धारण गरे पनि लक्ष्य अनुसारको धान खरिद गर्न सकेको छैन । संस्थानले यस वर्ष ८० हजार क्विन्टल धान खरीद गर्नुपर्ने लक्ष्य निर्धारण गरे पनि अहिलेसम्म २१ हजार ८७८ क्विन्टल मात्र धान खरिद गरेको छ ।
संस्थानले पहिलो पटक पुस २६ गते प्रतिक्विन्टल दुई हजार ३७५ रुपियाँ र दोस्रो पटक माघ २९ गते प्रतिक्विन्टल दुई हजार ५१५ रुपियाँ धानको खरिद मूल्यको दररेट निर्धारण गरेको थियो । संस्थानको खरिद दरको प्रतिस्पर्धामा बजारका निजी व्यापारीले दुई हजार पाँच सय र दुई हजार ५५० रुपियाँ धानको खरिद मूल्य निर्धारण गरेका थिए ।
संस्थान लहानका प्रमुख लालमोहन ठाकुरले भने , हाम्रो खरिद मूल्यभन्दा बजारमा रहेका व्यापारीले धानको मूल्य बढी दिने भएकोले संस्थानमा धान बिक्री गर्न किसान नआउने गरेका हुन । जसले गर्दा हाम्रो खरिद लक्ष्य पनि प्रभावित भइरहेको छ ।
खाद्य संस्थानसँगै व्यावसायिक प्रतिस्पर्धा गर्नुपरेको हुनाले आफूहरूले धानको खरिद मूल्य बढाउनुपरेको स्थानीय धान व्यवसायीले बताउँदैआएका छन् । किसानलाई आकर्षित गर्न हामीले सुरुमा खाद्य संस्थानभन्दा राम्रो दर दियौ, लहान–१२ स्थित फूलबारी चोकका धानचामलका खरिदकर्ता प्रमोद साहले भने तर पछि संस्थानले पुनः दररेट बढाएपछि हामीले पनि खरिद मूल्य बढाउन बाध्य भयौँ ।
पछिल्लो समयमा संस्थानले व्यावसायिक रूपमै धानको खरिद मूल्यमा प्रतिस्पर्धा गर्न थालेपछि आफूहरूले धान खरिदका लागि गाउँगाउँमा बिक्री केन्द्र राखेको जानकारी साहले दिए । सरकारी संस्थान र निजी व्यवसायीबीच धान खरिदका लागि मूल्यको प्रतिस्पर्धा हुँदा भने यसबाट किसानलाई फाइदैफाइदा पुगेको छ ।
पहिले संस्थानमा धान खरिद नहुँदा व्यापारीले मनलाग्दो तरिकाबाट धानको खरिद मूल्य निर्धारण गर्दा किसानले कम मूल्यमै धान बिक्री गर्नुपर्ने बाध्यता थियो । लहान माडरका युवा कृषक रामबाबु यादवले भन्नुभयो, अचेल त व्यापारी धान खरिद गर्न गाउँगाउँमै घरघरमा पुग्न थालेका छन् ।- सन्तोष सुवेदी

प्रकाशित मिति: आइतवार, फाल्गुन २०, २०७४