शुक्रबार, चैत्र १६, २०८०

कृषि भूमिमा पानी : सिँचाइमा लगानी

काठमाडौं,  पाँच वर्षमा सम्पूर्ण सिँचाइयोग्य कृषिभूमिमा आधुनिक सिँचाइ प्रणाली लागू गरिने उल्लेख गरिएको घोषणपत्रमा ठूला सिँचाइ आयोजनालाई अगाडि बढाउने प्रतिबद्धता निर्वाचनमा गएका एमाले र माओवादी केन्द्र गठवन्धनले जनाइएको छ ।
गठबन्धनले तराई–मधेस र भित्री तराईको कृषि भूमि सिँचाइ गर्न तमोर–मोरङ डाइभर्सन, सुनकोशी–कमला र सुनकोशी–मरिन–वागमती डाइभर्सन, कालीगण्डकी–तिनाउ डाइभर्सन, राप्ती–सुराई डाइभर्सन, भेरी–बबई डाइभर्सन, पश्चिमसेती–कैलालीजस्ता नदी डाइभर्सन योजना अगाडि बढाउने महत्वकांक्षी योजना अगाडि सारेको छ ।
पुराना सिँचाइ प्रणालीलाई मर्मतसंभार तथा पुनःनिर्माण गरी पूर्ण क्षमतामा सञ्चालन गरिने र चुरे तथा महाभारत क्षेत्रबाट बग्ने नदीको मुहानमा बाँध निर्माण गरी बाढी नियन्त्रण, विद्युत् उत्पादन, सिँचाइ तथा माछापालन कार्यक्रम लागू गरिने घोषणापत्रमा जनाइएको छ । त्यसैगरी वर्षात्को पानीसमेत उपयोग गरी राष्ट्रव्यापीरूपमा ताल र साना ठूला पोखरी निर्माण गरी डढेलो नियन्त्रण, चरिचरण र अन्य सिँचाइमा सदुपयोग गरिने भनिएको छ । भूमिगत सिँचाइ सम्भाव्य भएका तराई–मधेश र अन्य स्थानमा स्यालो तथा डिप ट्युबवेल र पहाडी भू–भागमा अवस्थित समथर भू–भाग, बेँसी तथा सौर्य ऊर्जा एवं अन्य प्रविधिमा आधारित लिफ्ट सिँचाइ सञ्चालन गरिने पनि उल्लेख गरिएको छ ।
आकाशे पानी संकलन तथा भण्डारण, थोपा तथा फोहोरा सिँचाइ, प्लाष्टिक पोखरी र तालतलैया एवं पानीका अन्य स्रोत प्रयोगद्वारा कृषियोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइने पनि घोषणापत्रमा जनाइएको छ ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २१, २०७४