शुक्रबार, चैत्र १६, २०८०

करोडौं सकियो तर किसानसम्म पुगेन मतदाता शिक्षा

काठमाडौं, मंसिर । संघीय संरचना अनुरुप प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि मंसिर १० गते पहिलो चरणको निर्वाचन सम्पन्न भईसकेको छ भने वाँकी दोस्रो चरणको निर्वाचनका यही मंसिर २१ गते हुँदैछ ।
प्रदेश सभा तथा प्रतिनिनिधसभाका लागि हुन गईरहेको निर्वाचनमा मतदाता शिक्षाका लागि निर्वाचन आयोगले रेडियो, टेलिभिजन तथा छापामाध्यम मार्फत सूचना प्रवाह गर्दै आईरहेको छ । करोडौं रुपैयाँ खर्च गरेर गरिएको ती विज्ञापनले मतदाता शिक्षा प्रभावकारी हुन सकेको देखिएन ।Election-Commission-Nepal
निर्वाचनमा मतदान कसरी गर्ने भन्ने कुरा जुन तहका मतदाताका लागि आवश्यक थियो त्यहाँसम्म पुग्न सकेको छैन । अझ भन्ने हो भने निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम किसानसम्म पुग्न सकेको देखिएन ।
यतिखेर किसानहरु धमाधम धान धन्क्याउने र गहुँ छर्ने चटारोमा होमिएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाका लागि मत कसरी हाल्ने भन्ने शिक्षा किसानसम्म पु¥याउन नसक्दा धेरै किसानहरुले मतदान गर्दा बदर हुने शंका उब्जन थालेको छ ।
अहिले निर्वाचन आयोगले गरेको मतदाता शिक्षा केवल बजेट सिध्याउनेकाम मात्र भएको निर्वाचन आयोग कै कर्मचारीहरु बताउँछन् । रेडियो, टेलिभिजनमा मात्र होइन निर्वाचन आयोगले दैनिक पत्रपत्रिका एवं सडक नाटकलाई समेत प्रयोग गरेर मतदाता शिक्षा दिने काम गरिरहेको देखिन्छ । तर यो कार्यक्रम कुन कुन क्षेत्रमा गरियो वा लक्षित समुदायमा पुग्यो कि पुगेन भन्ने अनुगमन हुन नसक्दा मतदाता शिक्षा प्रभावकारी हुन नसकेको ठहर छ ।
विशेष गरी निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम किसानमय हुन सकेको देखिंदैन । अशिक्षित, मतदान कसरी गर्ने जानकारी नभएका र प्रतिनिधि सभा एवं प्रदेशसभाका लागि एकै पटक मतदान गर्नका लागि निर्वाचन आयोगले किसानको पहुँचमा पुग्ने गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सकेको देखिंदैन ।
निर्वाचन आयोगले प्रचारात्मक रुपमा करोडौं रुपैयाँ खर्च गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको भएपनि काठमाडौ उपत्यका भित्रकै केही किसानहरुलाई मतदान कसरी गर्ने थाहा छ भन्ने कृषि साप्ताहिकको प्रश्नमा ८० प्रतिशत भन्दा बढी किसानहरुले स्पष्ट थाहा नपाएको बताए ।
किसानहरुले ‘घर घरमा भोट माग्न आएको भएपनि यो चिन्ह वा त्यो चिन्हमा भोट हालौ’ है भन्दै गएको तर कसरी भोट हाल्ने भन्ने कुरा नसिकाएको बताउँछन् । यसले के स्पष्ट हुन्छ भने किसानहरुले दिएको अधिकांश मत बदर हुन सम्भावना बढेको छ । किसानसम्म मतदान गर्ने प्रक्रियाको जानकारी गराउन न त निर्वाचन आयोगका प्रतिनिधिहरु नै पुगेका छन्, न त मतदाता शिक्षाको जिम्मेवारी लिएका ठेकेदारहरु नै पुगेका छन् ।

प्रकाशित मिति: आइतवार, मंसिर १७, २०७४