बिहिबार, चैत्र १५, २०८०

आधुनिक कृषि यन्त्रको प्रयोग बढ्दै

बैतडी, ८ पुस । पछिल्लो समयमा जिल्लाका किसान आधुनिक कृषि यन्त्र प्रयोग गर्न थालेका छन् । खेत जोत्न, धान, गहुँ चुट्न, मकै छर्ने लगायतका काममा किसानले आधुनिक कृषि यन्त्रको प्रयोग गर्न थालेका हुन् । गोरुले खेत जोत्नुको सट्टा पछिल्लो समयमा व्यावसायिक किसानले हाते ट्र्याक्टर र ट्र्याक्टरले खेत जोत्न थालेका छन् । धान गहुँ चुट्नका लागि थ्रेसरको प्रयोग गर्न थालेका छन् । खेत जोत्नका लागि गोरुभन्दा कृषि यन्त्रले सजिलो हुने भएकाले ट्र्याक्टरमार्फत खेत जोत्नेको सङ्ख्या बढ्दै गएको दोगडाकेदार गाउँपालिका–६ पञ्ज्युनयाँका वीरसिंह कार्कीले बताए ।
अहिले गाउँमा धेरैले ट्र्याक्टरले खेत जोतेकोे उहाँले बताउनुभयो । गोरुले तीन दिनमा जोत्ने खेत ट्र्याक्टरले एक घण्टामै जोत्न सकिने भएकाले किसानले ट्र्याक्टरको प्रयोग गर्न थालेका हुन् ।
जिल्ला कृषि विकास कार्यालयले एक सयभन्दा बढी किसानलाई अनुदानमा विभिन्न कृषि यन्त्र उपलब्ध गराएको कार्यालयका सूचना अधिकृत कर्णबहादुर चन्दले बताए । श्रम र समयको बचत हुने भएकाले कृषि यन्त्रमा किसानको आकर्षण बढेको उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, पुस ८, २०७४