शनिबार, बैशाख ८, २०८१

अनुदान पाउने भएपछि धान छोडर माछातिर

मोरङ, पौष । सरकारले माछापालनमा अनुदान प्रदान गर्ने र अरु बालीभन्दा छिट्टै मुनाफा हुने भएकाले पछिल्लो समयमा युवा किसानहरु माछापालनतर्फ आकर्षित भएका छन् । माछापालनतर्फ युवाहरुको आकर्षण बढेकै कारण धमाधम माछा पोखरी खन्ने क्रम बढेको छ । धान खेती गर्दै आउकी मोरङ केराबारी–९ देवीझोडाकी आशा लिम्बूले पनि भर्खरै माछा पोखरी खनेकी छिन् । उनले आफ्नो जग्गामा धान उत्पादन कम हुने र वनको छेउमा खेत भएकाले वन्यजन्तुले समेत बाली नोक्सान गर्ने हुँदा समस्या झेल्दै आएकी थिईन । धानखेती गरेर समस्या झल्नुभन्दा माछापालनमा नाफा पनि हुने र सरकारले अनुदान पनि दिने भएपछि उनले माछापालन सुुरु गरेकी हुन् ।
केराबारीकै मञ्जु कार्कीले पनि यसै वर्षदेखि माछापालन सुरु गरेकी छिन् । आम्दानी पनि हुने अनि उब्जाउ नहुने जमिनमा पोखरी खनेर माछापालनमा उनी सक्रिय देखिएकी छिन् । सरकारले माछापालन कार्यक्रमअन्तर्गत अनुदान दिएपछि किसान अहिले माछापालनमा तानिएका हुन् । धानभन्दा दोब्बर आम्दानी हुने भएकाले माछापालन सुरु गरेको मञ्जुले जानकारी बताईएन् ।
कृषि विकास मन्त्रालयले अहिले मोरङ जिल्लामा धान, माछा र तरकारी उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । जसअन्तर्गत जिल्लामा माछा मिसन कार्यक्रम सञ्चालन गरेर यस वर्ष ९६ हेक्टर क्षेत्रफलमा पोखरी विस्तार गर्ने लक्ष्यअनुसार किसानलाई अनुदानमा पोखरी खन्ने कामले तीव्रता पाएको जिल्ला कृषि विकास कार्यालय मोरङको भनाइ छ । कार्यालयका कृषि प्रसार अधिकृत सत्यदेव मण्डलका अनुसार तीन वर्षभन्दा अघिदेखि नै यो मिसन सुरु भएपनि यस वर्षदेखि भने बृहत्रुपमा यो कार्यक्रम लागू गरिएको बताए । एक हेक्टरभन्दा माथिका पोखरी खन्ने कृषकलाई पहिलो प्राथमिकतामा राखिएको छ । सरकारले प्रतिहेक्टर माछा पोखरीका लागि तीनलाख अनुदान प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: मङ्लबार, पुस २६, २०७३